• आइतबार, ५ जेठ, २०८२
  • ०१:२९:१६

परिवर्तनशील समुदायमैत्री संग्रहालय बनाउन संग्रहालयकर्मीको जोड

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय र आइकम नेपालले  अन्तर्राष्ट्रिय सङ्ग्रालय दिवसको अवसर पारेर यही जेठ ३ गते संयुक्त रुपमामा आयोजना गरेको एक छलफल कार्यक्रम सम्पन्न भएको छ। परिवर्तनशील समुदायमा संग्रहालयको भविष्य विषयमा गरिएको उक्त छलफलमा विभिन्न पाँचवटा संग्रहालयले आफ्नो संग्रहालयसँग सम्बन्धित प्रस्तुति राखेका थिए। उक्त प्रस्तुतिमा सहभागीहरुले छलफल गर्दै विषयवस्तुमा केन्द्रित रहेर विभिन्न सुझावहरु समेत दिएका थिए।

मे १८ तारिखमा विश्वभरि मनाइने अन्तर्राष्ट्रिय संग्रहालय दिवसको यस वर्षको नारा परिवर्तनशील समुदायमा संग्रहालयको भविष्य विषयमा उक्त छलफल आयोजना गरिएको बताइएको छ। कार्यक्रममा राष्ट्रिय सङ्ग्रहालयका तर्फबाट अरुणा नकर्मी, नारायणहिटी  दरबार संग्रहालयको तर्फबाट ज्योति रावल, प्राकृतिक विज्ञान सङ्ग्रहालयका तर्फबाट देवेन्द्र महर्जन, पनौती सङ्ग्रहालयका तर्फबाट राजेन्द्र महाजु र नेपाल प्रहरी सङ्ग्रहालयका तर्फबाट रामबाबु रानाले  प्रस्तुति दिनुभएको थियो। 

कार्यक्रममा नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेश सुरस श्रेष्ठले कार्यक्रममा दिएका प्रस्तुतिहरू सहभागितामूलक र समावेशी रहेको र उक्त प्रस्तुतिले  महत्वपूर्ण विषय उठान गरेको धारणा राख्नुभयो। उहाँले कार्यक्रममा उठान भएका छलफलले अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको भावनालाई सम्मान र सहयोग पुगेको भन्दै यस किसिमका कार्यक्रमका श्रृङ्खला देशभरि नै गर्न आवश्यक रहेको बताउनुभयो। 

आइकम नेपालका अध्यक्ष रमेश दवाडीले यस किसिमका कार्यक्रम अन्य सङ्ग्रहालयसँग पनि मिलेर गर्न तयार रहेको बताउँदै कार्यक्रममा सहभागिता जनाउनुभएका सबै संग्रहालयकर्मी तथा प्रस्तोतालाई धन्यवाद दिनुभयो 

अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मे १८ तारिखमा पर्ने भए तापनि उक्त कार्यक्रमकै श्रृङ्खलाको रुपमा १७ तारिखमा आयोजना गरिएको यस छलफलमा ५० जनाभन्दा बढी संग्रहालयकर्मीको सहभागिता थियो। सहभागीहरुले छलफलको विषयवस्तुसँग सम्बन्धित रचनात्मक टिप्पणी गर्दै आफ्ना सुझावहरु समेत प्रस्तुत गरेका थिए।  प्रविधिको विकास, बसाइसराइ, आर्थिक पक्ष जस्ता कारणले समुदायमा परिवर्तन आएको र त्यो परिवर्तनलार्य सम्बोधन गर्न संग्रहालयकर्मीहरु लागि पर्नुपर्नेमा सहभागिको जोड थियो । आइकम नेपालले यस वर्षको अन्तर्राष्ट्रिय संग्रहालय दिवसको आसपास पारेर विभिन्न खालका कार्यक्रमहरु गरिरहेको छ। सोही कार्यक्रमको श्रृङ्खलाको रुपमा यो छलफल आयोजना गरिएको आयोजकको भनाइ छ।