• आइतबार, ५ जेठ, २०८२
  • १२:२५:५७

भारतमा महङ्गो भएपछि नवलपरासी हुँदै भारततर्फ चल्ला तस्करी

काठमाडौं। नेपालबाट भारततर्फ कुखुराका चल्ला तस्करी हुन थालेको छ । सधैँ भारतबाट अवैध रुपमा आयात भएका कुखुरा, अण्डा तथा चल्ला नष्ट गर्दे आएको प्रहरीले पश्चिम नवलपरासीबाट भारततर्फ लैजान लागिएको चल्ला बरामद गरी नष्ट गरेको छ ।

पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर ५ चमनटोलास्थित दशगजा नजिकबाट भारततर्फ लान लागिएको अवस्थामा उक्त चल्ला प्रहरीले बरामद गरेको हो । ९० वटा कार्टुनमा रहेका ५ हजार ४ सय चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट महेशपुरमा नष्ट गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो ।

भारतबाट आएका पन्छीजन्य पदार्थ दैनिकजसो नियन्त्रणमा लिने गरेको भएपनि नेपालबाट भारततर्फ तस्करी गरेर लैजान लागेको भने पहिलोपटक थाहा भएको फुँयालले बताउनुभयो ।

सुर्खेतको विरेन्द्रनगरमा रहेको कर्णाली ह्याचरी उद्योग प्रा.ली.बाट पाल्हीनन्दनको सीमावर्ती क्षेत्रमा रहेको सना खातुन पोल्ट्री फर्मका नाममा प्रति चल्ला ३५ रुपैयाँका दरले दश हजार दुई सय चल्ला बापत ३ लाख ५७ हजार रुपैयाँको प्यान बिल काटिएको छ ।

ह्याचारी उद्योगका सञ्चालकले पनि आफूले बिल काटेर उक्त चल्ला नवलपरासी रहेको पोल्ट्री फर्ममा बिक्रि गरेको प्रहरीसँग बताएका छन् । बिलमा उल्लेख भएअनुसार अझै ४ हजार ८ सय वटा चल्ला फेला परेको छैन् ।

गहुँ खेत हुँदै मानिसले बोकेर चल्ला लजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । भारतमा अहिले चल्लाको मूल्यमा केहि वृद्धि भएकाले नेपाल तर्फबाट तस्करी सुरु भएको बताइएको छ ।

पशु क्वारेन्टाइन चेकपोष्ट महेशपुरका प्रमुख मनोज अधिकारीले नवलपरासीबाट भारततर्फ चल्ला तस्करी भएको पहिलो पटक थाहा पाएको बताउनुभयो । अन्य जिल्लाबाट तस्करी हुने गरेको सुनिएपनि नवलपरासीबाट पहिलोपटक भारततर्फ लान लागिएको चल्ला बरामद भएको बताउनुभयो ।

भारतमा वृद्धि भएर प्रति चल्लाको मूल्य नेपाली एक सय रुपैयाँ सम्म पुगेपछि नेपाल बाट तस्करी हुन थालेको बताइएको छ । नेपालमा तीसदेखि चालिस रुपैयाँसम्ममा बिक्रि हुने गरेको छ ।

प्रहरीले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा भारतबाट ल्याइएका २ हजार १ सय ४३ कुखुरा, १९ हजार २ सय १६ वटा कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ । भारततर्फ कुखुराजन्य पदार्थ निर्यात गर्नुपरेमा सबैभन्दा पहिले पशु सेवा विभागबाट स्वीकृती लिएको हुनुपर्दछ ।बिकास अधिकारी ।