धनगढी : २ हजार घरमा बाढी पस्यो, ८ जनाको उद्धार
-
नेटिजन संवाददाता
- सोमबार, १६ असार, २०८२- १६:५६:००/ Monday 06-30-25

काठमाडौं । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका ८ जनालाई प्रहरीले सोमबार उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका ४ जना र धनगढीको बेली गाउँका चारजना गरी ८ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका ४ जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका ४ जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।
सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै २ हजार घरमा पानी पसेको बताउनुभयो । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको छ ।