नारायणगढ-बुटवल सडक: दाउन्ने खण्डमा काम केन्द्रित
-
नेटिजन संवाददाता
- मंगलबार, ७ जेठ, २०८२- १२:३४:००/ Tuesday 05-20-25

काठमाडौं । नारायणगढ-बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ ।
आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ-बुटवल सडकको कुल लम्बाइ एक सय १३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ ।
पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १०.४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले ३.०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताउनुभयो ।
हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३.९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उहाँले बताउनुभयो । यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताउनुभयो ।
उहाँका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ ।
दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ ।
नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई २ खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन हुने छ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ ।
राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ ।